PPA of 13 MW Upper Seti-1 Project Completed
कास्कीको माछापुच्छ्रे गाउँपालिका र पाेखरा महानगरपालिकामा निर्माण हुने १३ मेगावाटको माथिल्लो सेती–१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । श्रेष्ठ इनर्जी सोलुसन्स् प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच बिजुली किन्ने सम्झौता भएको हो ।
प्राधिकरण र कम्पनीबीच शुक्रबार (पुस ६ गते) आयोजनाबाट उत्पादन हुने विद्युत् किन्ने सम्झौता भएको कम्पनीका प्रवन्ध निर्देशक मनोवल श्रेष्ठले बताए । सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट उप–कार्यकारी निर्देशक प्रदिपकुमार थिके र कम्पनीका तर्फबाट प्रवन्ध निर्देशक श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्राधिकरणले आयोजनाबाट उत्पादन भएको विद्युत् हिउँदमा प्रतिमेगावाट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा खरिद गर्नेछ ।
‘अहिले आयोजनाकाे अध्ययन पूरा गरेर उत्पादन अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएका छौँ,’ उनले ऊर्जा खबरसँग भने, ‘विभागबाट अनुमति पाउने लगतै वित्तिय व्यवस्थापन गरेर आयोजनाको संरचना निर्माण सुरु गछौँ ।’
आयोजना सम्पन्न गर्न २ अर्ब ७८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ ।
रन अफ रिभर प्रकारको आयोजनाको डिजाइन बहाव १५ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ११७.१५ मिटर हुने अध्ययनले देखाएको छ । आयोजनाबाट वार्षिक सरदर ८२.६२ गिागावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।
आयोजनको बाँधस्थल सेती नदीको बाँया किनारमा रहनेछ । विद्युत् गृहमा जडित ५.१६५ क्षमताको ३ फेज जनेरेटर मार्फत विद्युत् उत्पादन गरिनेछ ।
उत्पादित विद्युत्लाई ३३ केभी प्रसारण लाइन मार्फत ३.५ किलोमिटरको दुरीमा रहेको प्राधिकरणको लाहाचोक सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । यो आयोजनाबाट २०८२ सालबाट विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।
Referance News : urjakhabar




